Tuesday, November 17, 2009

अमेरिकामा बग्रेल्ती संघसंस्था, लहड कि आवश्यकता ?



अमेरिकामा नेपालीहरुको संख्यात्मक वृद्धिसँगै नेपालीहरु विभिन्न संघ-संस्था खोलेर संगठित हुने क्रम बढ्दो छ । सन् १९६७ मा नेपाल सोसाइटी वासिङटन डिसी खोलेर गरिएको संगठित हुने यो प्रयास अहिले करिव पाँच दशकपछि निकै विस्तारित भएको छ । अमेरिकामा नेपाली कति संघ संस्था खोलिए त भन्ने आधिकारिक तथ्याङ्क नभेटिए पनि इमेल गुप्रहरुलाई पनि संस्थाको रुपमा मान्ने हो भने करिब पाँच सयको हाराहारीमा संस्थाहरु छन् भनेर अनुमान गर्न सकिन्छ । तीमध्ये ४० देखि ५० वटा संघ-संस्था अमेरिकाको कानुन अनुसार मुनाफारहित गैह्रसरकारी संस्थाको रुपमा दर्ता गरिएको छ । खोलिएका संघ संस्थाहरुमा सामाजिक, व्यवसायिक, राजनैतिक, जातिय, भाषिक र क्षेत्रीय उद्देश्य बोकेका संस्थाहरुको बाहुल्य छ । यी संस्थाहरुको उद्देश्य र गठनलाई हेर्ने हो भने नेपालको राजनैतिक, सामाजिक, जातीय, क्षेत्रीय विभाजनको तस्वीर अमेरिकामा पनि छर्लंग देख्न सकिन्छ ।
यति धेरै संस्थाहरु किन चाहियो त ? सबै संस्थाका प्रतिनिधिहरुको भनाइ छ, समान उद्देश्य भएका मानिसहरु संगठित हुन र आफ्नो हकहितको रक्षा गर्न अनि नेपालमा समाजसेवा गर्न । संख्यागत हिसाबले वासिंगटन डिसीमा सबैभन्दा बढी अर्थात् ४५ वटा नेपाली संगठनहरु छन् ।

नेपालीहरुको धेरै बसोवास भएको न्युर्योकमा करिब ३५ वटाजति नेपाली संस्थाहरु भएको न्युर्योकमा धेरै पहिलेदेखि बस्दै आएका समाजसेवी शैलेस श्रेष्ठले नेपाली खबरलाई बताए । उनका अनुसार संस्था धेरै भए पनि
धेरैजसो संघ-संस्था पार्टी, भोज-भतेर र रमाइलो गर्नमै केन्द्रीत छन् । अहिले पनि देशका लागि चिन्ता गर्ने अनि देशलाई राजनैतिक र सामाजिक हिसाबले अग्रगामी दिशातिर लैजानेतर्फ यहाँ बसेर सोच्ने संस्थाहरुको कमी छ । राजनीतिक भनिएका संस्थाहरु पनि सिंगो राष्ट्र र जनताका लागि सोच्नेभन्दा पनि आफ्नो दलगत स्वार्थमा चुर्लुम्म डुबेका छन्, जुन दुभाग्यपुर्ण नै हो । अहिले देश फेरि द्वन्द्वतिर उन्मुख भइरहेका अवस्थामा देशलाई बचाउनका लागि दबाव सिर्जना गर्नेतिर सबै सचेत र संगठित ढंगले लाग्ने संस्थाको खाँचो परेको उनको कथन थियो ।



सबैभन्दा ठूलो संस्था
अमेरिकाको सबैभन्दा ठूलो संस्थाचाँहि एएनएको नामले चिनिने अमेरिका नेपालिज एसोसियसन हो । यसका वर्तमान अध्यक्ष सिमोन दुंगानाका अनुसार, यो वर्षको जुलाईमा भएको सम्मेलनताका उक्त संस्थामा सदस्य शुल्क तिरेर सदस्य बन्नेहरु करिव ३५ सय पुगेका थिए । सन् १९८३ मा स्थापना भएको उक्त संस्थामा ७ सयदेखि ८ सयसम्म आजीवन सदस्यहरु  रहेका छन् । उनका अनुसार उक्त संस्थाले वर्षेनी एएनए सम्मेलन गरेर अमेरिकामा बस्ने नेपालीहरुवीच भाइचारा सम्वन्ध विकास गरेको, नेपाली संस्कृतिको प्रचार-प्रसार गरेको र नेपालमा विभिन्न प्राकृतिक विपत्तीहरुमा आर्थिक सहयोग पठाउने जस्ता थुपै काम गर्दै आएको छ । उक्त संस्थाले डिसीको वेष्ट भर्जिनिया युर्निभर्सिटीमा नेपाली विद्यार्थीका लागि स्र्कलरशीप (छात्रवृत्ति) पनि स्थापना गरेको छ । संस्था ठूलो भए पनि र अमेरिकामा बस्ने नेपालीहरुको हकहितमा विगतमा केही काम गर्न नसकिए पनि हालै डिसी एरियामा नेपाल एडुकेशन एण्ड कल्चर सेन्टर खोल्ने कार्यमा सहभागी भएको र अमेरिकाको राजनैतिक फाँटमा नेपालीजातिको हक हितको लागि लविंग गर्नेक्रम शुरु गर्न लागेको ढुंगानाले बताएका छन् ।
सबैभन्दा पुरानो संस्था
अमेरिकामा नेपाली संघसंस्थाको इतिहास खोतल्ने हो भने आजभन्दा करिब ५० वर्ष अघिदेखि नै नेपालीहरुले संगठितरुपमा संस्था खोल्न थालेको पाइन्छ । अमेरिकामा खोलिएको नेपालीहरुको पहिलो संस्था अमेरिका नेपाल सोसाइटी, वासिंगटन डिसी हो, जुन सन् १९६७ मा खोलिएको थियो । यसका मानार्थ अध्यक्ष नेपालका लागि अमेरिकी राजदुत एल्सवोर्थ बंकर थिए ।  उक्त संस्थाले डिसी एरिया वरिपरि दशैंतिहार मेला, नेपाली पिकनिक र सांस्कृतिक कार्यक्रमका अलवा नेपालबाट अमेरिका आउने विशिष्ट व्यक्तिहरुको भेटघाट तथा प्रवचन कार्यक्रम गर्दै आएको छ । विभिन्न समयमा राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक विषयमा सभा, सम्मेलन पनि यस संस्थाले गर्दै आएको छ । नेपाली दुतावाससँग मिलेर यस संस्थाले सन् २००३ मा टुरिजम् एक्स्पोको पनि आयोजना गरेको थियो ।
सामाजिक संस्था
अमेरिकामा विभिन्न सामाजिक संस्थाहरुमध्ये हेल्प नेपाल नेटवर्क अमेरिका शाखा चिनिएको सामाजिक संस्था हो । नेपालीहरुले नेपालीका लागि नेपालीहरुद्वारा नै केही गरांै भनेर अन्तराष्ट्रिय रुपमा शुरु गरिएको यो संस्थाको अमेरिकामा वोष्टन, न्यर्योक, वाल्टिमोर र सान्प|mान्सिस्कोमा शाखाहरु छन् । यस संस्थाले नेपालमा शिक्षा र स्वास्थसेवामा सहयोग गर्दै आइरहेको छ । यसले इलाइब्रेरी, मुगु जिल्लामा हेल्थ पोष्ट र सर्लाहीमा अस्पताल बनाएको छ  । यो संस्थाले कोशी बाढी पीडितका लागि १२ हजार अमेरिकी डलर उठाएर नेपाल पठाएको थियो । संस्थाका प्रेसिडेन्ट मविसिंका अनुसार संस्थामा जति रकम उठाइन्छ, त्यो सबै सम्विन्धित प्रोजेक्टलाई नै जान्छ । ओभरहेड खर्च गरिँदैन र संस्थामा विभिन्न पदहरु भएता पनि सबै सदस्यहरु उतिकै हैसियतमा छन् । त्यस्तै न्युर्योकका भएका नेपाली रिजउड कम्युनिटी, वासिंगटनको अमेरिका नेपाल सोसाइटी
वाल्टिमोर नेपाली एसोशियसन (वाना), अमेरिका नेपाली सोसाइटी क्यालिफोर्निया एसोसियसन अफ नेपालिज इन मिडवेस्ट लगायतले पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।
डेढलाख डलर उठाउने संस्था
नेपालीहरुको अमेरिकामा एउटा नेपाल एडुकेसन एण्ड कल्चर सेन्टर बनाउने भनेर अमेरिका-नेपाल सोसाइटी वासिंगटन डिसीका पूर्वअध्यक्ष प्रेम संग्रौलाको संयोजकत्वमा सन् २००७ मा गठन गरिएको सात सदस्सीय को-अर्डिनेसन कमिटीले नेपालीहरुबाट नै हालसम्म डेढलाख डलर चन्दा संकलन गरिसकेको छ । संयोजक प्रेम संग्रौलाका अनुसार उक्त पैसाले मेरिल्याण्डमा करिव साँढे नौ एकड जमीन किनिएको छ । र, अहिले नाहुम भन्ने ठाँउमा भएको नेपाली मन्दिरलाई त्यहि जग्गामा मन्दिर सार्ने तयारी भइरहेको छ । नेपाल एडुकेसन एण्ड कल्चर सेन्टर एउटा आफंैमा ठूलो प्रोजेक्ट भएकाले यसलाई विभिन्न चरणमा पूरा गर्ने सोचाइ राखिएको कुरा संग्रौलाले नेपाली खबरलाई बताए । उनका अनुसार केही समयभित्रमा नै पशुपति, र वुद्धको मन्दिर र २० जनाजति अट्ने प्रवचन हलको निर्माण पूरा हुनेछ । र केही समयपछि स्थायीरुपमा ३ सयजति अट्ने स्थायी स्टेेजको निर्माण पनि हुनेछ । तर, यसको सबै चरणहरु पूरा गर्नका लागि अझै केही समय लाग्ने उनको कथन छ ।
राजनैतिक संगठन
नेपालका प्रमुख राजनैतिक पार्टीहरुमध्ये नेपाली कांग्रेससँग सम्वद्ध नेपाली जनसम्र्पक समिति अमेरिकामा क्रियाशील राजनैतिक संगठन हो । सन् २००५ मा कांग्रेस पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले आफ्नो अध्यक्षतामा जनसम्र्पक तदर्थ समिति गठन गरेर पठाएदेखि उक्त संगठन क्रियाशील रहेको कुरा उक्त संगठनका संस्थापक अध्यक्ष आनन्द विष्टले नेपाली खबरलाई बताए । उक्त संगठनमा आधीकारिकताको विवाद भएता पनि उक्त संगठनले अमेरिकामा नेपाली कांग्रेसको भातृ संगठनका रुपमा कांग्रेसको राजनीतिलाई अगाडि बढाइरहेको र कांग्रेस समर्थकहरुलाई एकत्रित गर्दै लगिरहेको छ । यस संस्थाका प्रतिनिधिले नेपाली कांग्रेसको महाधिवेशन र महासमितिमा समेत भाग लिन पाउने कुरा आनन्द विष्टले बताए ।
अमेरिकामा रहेको युनाइटेड नेपाल डेमोक्रेटिक फ्रन्ट पनि एउटा राजनैतिक संस्था हो । एमाले निकट भनेर चिनिने यो संस्था शुरुमा एमालेसँग नजिकका मानिसहरुले खोलेको भएपनि यो एमालेको भातृ संगठन नभएको कुरा यसका अध्यक्ष टेक गुरुङ्ग बताउँछन् । हामी एमालेको भातृ संगठन होइनौं, यो राजनैतिक र सामाजिक संस्था हो । हामीले अब यस संस्थालाई सबैको साझा संस्थाको रुपमा अगाडि बढाउनका लागि यही नोभेम्वर ८ देखि खुल्ला साधारण सदस्यता वितरण गर्ने सोच बनाएका छौं, गुरुङ्गले नेपाली खबरसित भने ।
त्यसैगरी प्रोग्रेसिप नेपाली फोरम फर नर्थ अमेरिका, पिनेफा, अमेरिका र क्यानडामा संयुक्त रुपमा गठन गरिएको अर्को राजनैतिक संगठन हो । माओवादी नजिकको भनेर आरोप लगाइने गरेता पनि यो माओवादी वा अन्य कुनै दलको नजिकको संगठन नभएको यसका अध्यक्ष अभि शर्माले नेपाली खबरलाई बताए । यो लोकतान्त्रिक, देशभक्त र प्रगतिशीलहरुको साझा संगठन हो । तर, कुनै राजनैतिक पार्टीको भातृसंगठन होइन, शर्माको कथन थियो । नेपालको प्रगतिशील रुपान्तरणका लागि विदेशमा बसेर सहयोग गर्न यो संस्था खोलिएको शर्माको कथन छ । उक्त संस्थाले भारतीय हस्तक्षेपको विरुद्धमा विश्वव्यापी रुपमा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम गरेको थियो भने माधवकुमार नेपाल अमेरिका आँउदा भएको कालो झण्डा देखाउने कार्यक्रममा ऐक्यवद्धतासमेत जारी गरेको थियो ।
जनजातिका आफ्नै संगठन
नेपालमा जस्तै अमेरिकामा पनि विभिन्न जातीय संगठनहरु खोलिएका छन् । तामाङ्ग, गुरुङ्ग, शेर्पा, मगर, नेवार र थकाली आदि विभिन्न जनजातिहरु संगठित भएका छन् । नेपाल-अमेरिका आदिवासी जनजाति महासंघअन्र्तगत किरात याक्थुम चुम्लुङ, युनाइटेड शेर्पा एसोसिएसन, किराँत राई एसोसिसन अफ अमेरिका, तामाङ एसोसिएसन अफ अमेरिका, मुस्ताङ सेवा समाज, ध्यालुंग सेवा समिति, मनांग समाज, मुस्तांग धेदुगं, हेल्मो सोसाइटी अमेरिका, लांघाली एसोशियसन, मुंगुङ एसोसियन र नेवाः गुठी लगायत १४ वटा संघसंस्थाहरु आवद्ध भएको कुरा उक्त संगठनका अध्यक्ष कर्मा ग्याल्जेन लामाले नेपाली खबरलाई बताए । अमेरिकामा रहेका विभिन्न जाति जनजातिहरुलाई एकत्रित गर्न र नेपालमा बन्न लागेको संविधानसभामा जनजातिको हक र अधिकारलाई सुनिश्चित गर्नका लागि अमेरिकामा बसेर काम गर्न उक्त संस्था गठन गरिएको लामाले बताए । उक्त संस्थाको अगुवाइमा नेपालका प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अमेरिका आउँदा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । नेपालका जनजाति नेताहरुसँग पनि उक्त संस्थाले विभिन्न अन्तरक्रियात्मक कार्यक्रम गर्दै आइरहेको छ । जनजातिका लागि खोलिएको भए पनि सबै नेपालीसँग हातेमालो गर्ने संस्थाको उद्देश्य रहेको कुरा पनि लामाले बताए ।
क्षेत्रीय संगठन
जातीयमात्रै होइन, अमेरिकामा मनाङ, मुस्ताङ, मुगु, हुम्ला, जुम्ला जस्ता भेगबाट आएका क्षेत्रिय संगठनहरु पनि अस्तित्वमा रहेका छन् । एसोसिएसन अफ नेप्लीज तराइएन इन अमेरिका यहाँ रहेका तराईबासी नेपालीहरुको यस्तै एक संस्था हो । त्यसको अलावा विभिन्न विद्यालयहरुका पूर्व विद्यार्थीहरुको संगठन पनि अमेरिकामा क्रियाशील छन् ।
व्यवसायिक संगठन
विभिन्न पेशा गरी बस्नेहरुको पेशागत संगठन पनि अमेरिकामा प्रशस्त छ । तीमध्ये वकिलहरुको नेपाल-अमेरिका कानुन व्यवसायी संगठन, फिजिक्स विषय अध्ययन गर्नेहरुको नेपाल-अमेरिका फिजिस्क सोसाइटी, केमेस्टी अध्ययन गर्नेहरुको नेपाल-अमेरिका केमिकल सोसाइटी, पत्रकारहरुको नेपाल-अमेरिका पत्रकार संघ, कलाकार संघ, अमेरिका-नेपाल मेडिकल फाउन्डेसन, इन्जिनियरिङ एसोसियसन आदि प्रमुख छन् ।
नेपाल-अमेरिका पत्रकार संघका अध्यक्ष गिरीश पोख्रेल संस्था खोल्नुको कारण प्रष्ट्याउँदै भन्छन् – ‘नेपालमा विभिन्न संचारमाध्यमहरुमा पत्रकारिता गरेर अमेरिका आएका साथीहरुले त्यो कर्मलाई यहाँ आएर पनि निरन्तरता दिउन् भन्नका लागि र नयाँ-पुराना साथीहरुलाई एकै ठाँउमा भेला गराउनका लागि संस्था खोलिएको हो ।’ उनका अनुसार संस्थाले उल्लेख्य काम गर्न नसके पनि संस्थागतरुपमा अमेरिकी कानुनअनुसार दर्ता गरिएको र नेपालका केही पत्रकारहरुलाई आर्थिक सहयोग एवं वर्षेनी मे ३ मा राष्ट्रियस्तरको कार्यक्रम गर्ने गरिएको छ ।
महिलाको अलग्गै मोर्चा
अमेरिकामा नेपाली महिलाहरुको संगठनको आवश्यकता औल्याउँदै गठन गरिएको अमेरिका-नेपाल महिला एसोसियसनकी अध्यक्ष माधवी बस्नेत कार्कीले भनिन् -’यहाँ पनि नेपाली महिलाहरुमाथि हुने घरेलु हिंसा भइरहेका छन्, त्यसका विरुद्ध काम गर्नका लागि एउटा संस्थाको आवश्यकता भएकाले यो संस्था खोलिएको हो ।’ उनको संस्थाले महिला हिंसाको विरोधका साथै नेपालमा वर्षेनी २ जना बच्चाहरुलाई छात्रवृत्ति दिँदै आइरहेको छ भने अमेरिकामा हेल्थ इन्सुरेन्स (स्वास्थ्य विमा) नहुनेहरुका लागि मासिकरुपमा निशुल्क स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । यतिका संस्था हुँदाहुँदै महिलाको नामबाट नै नयाँ संस्था किन चाहियो त ? उद्देश्य र काम गर्ने शैली फरक भएका कारणले नयाँ संस्था चाहिएको उनको कथन छ ।
साहित्यकारहरुको सन्जाल
अमेरिकामा नेपाली लेखक र साहित्यकारहरुका नाममा थुप्रै संस्था भएता पनि नेपाली भाषाको जर्गेना गर्ने उद्देश्यले गठित अन्तराष्ट्रिय नेपाली साहित्य समाज सबैभन्दा ठूलो र पुरानो संस्था हो ।  सन् १९९१ मा वासिंगटन डिसीबाट शुरु भएको यस संस्थाले विश्वका विभिन्न देशमा र अमेरिकाभित्र गरी करिव पाँच दर्जन च्याप्टरहरु गठन गरेको छ । यस संस्थाको वर्तमान उपाध्यक्ष भारती गौतमका अनुसार नेपाल बाहिरका विभिन्न मुलुकहरुमा बसोबास गर्ने नेपालीहरुले नेपाली पुस्तक लेखन, प्रकाशन, विदेशी भाषाबाट नेपाली भाषामा पुस्तकहरुको अनुवाद, नेपाली प्राथमिक कक्षा सञ्चालन आदि विभिन्न माध्यमहरुद्वारा नेपाली भाषा, साहित्य र कलाको संरक्षण एवं सम्वर्द्धन गर्ने उद्देश्यले यस संस्थाको गठन गरिएको हो । यो संस्थाले नेपालका विभिन्न साहित्यकारहरुको जन्मजयन्तीको अवसर पारेर साहित्यक कार्यक्रमहरु गर्दै आइरहेको  छ । यही अगष्टमा उक्त संस्थाले प्रथम अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन न्युर्योकमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने साहित्यकार तथा नेपाल, भारत, रुस, जापान, क्यानडालगायतका देशबाट थुप्रै साहित्यकारहरुले भाग लिएका थिए ।
कलाकारहरु पनि संगठित
नेपालबाट अमेरिका आएका विभिन्न विधाका कलाकारहरु पनि अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिका नामक संस्था खोलेर अमेरिकाका संगठित भएका छन्, जसको अगुवाइ गरेका छन् गायक रामप्रसाद खनालले । उक्त संस्थामा गीत, संगीत, हास्यव्यंग्य नाट्य, वाद्यवादन, नृत्य, प्रहसन र उदघोषण लगायतका कलासँग सम्वन्धित व्यक्तिहरु संगठित भएका छन् । अमेरिकामा रहेका कलासँग सम्वन्धित व्यक्तिहरुवीच सम्पर्क कायम गर्ने तथा अमेरिकामा नेपाली कलाको विकास र यहाँ रहेका नेपालीहरुलाई विभिन्न कार्यक्रम गरेर मनोरन्जन दिने उक्त संस्थाको उद्देश्य रहेको खनाल बताउँछन् ।
नेपालीलाई सामाजिक न्याय दिलाउन र मानवअधिकारका लागि संगठन
 यसमा अलाएन्स फर डोमोक्रेसी एण्ड हुयुमन राइट्स, न्युर्योक र अधिकार, न्युर्योक र  हुयुमन राइट्स कमिटी, वाल्टीमोर प्रमुख छन् । न्युर्योकमा अवस्थित अधिकारले नेपालीहरुको हकहित र सामाजिक न्यायका लागि आवाज उठाउने गरेको छ । यसले सामाजिक अध्ययन, सशुल्क स्वास्थ्य विमा, आप्रवाससम्वन्धी सुधार, मजदुरहरुको हकहित एवं अधिकारका लागि काम गरिरहेको छ । त्यसका साथै युवाहरुलाई संगठित गराई विभिन्न एड्भोकेसी र लविंगको काम पनि यो संस्थाले गर्दै आएको छ ।
खेलाडीको पनि संगठित
विभिन्न संघसंस्थाहरुका नाममा पछिल्लोपटक एउटा नाम थपिएको छ, अमेरिकामा बस्ने नेपाली खेलाडीहरुको संस्था युएस-नेपाल स्पोस्ट्स एण्ड कल्चर इन्क । अमेरिकामा आई बसिरहेका नेपाली खेलाडीहरु सबैलाई एउटै थलोमा जम्मा गर्ने  र नेपालको खेलकुद र नेपालका खेलाडीहरुलाई यहाँबाट सहयोग गर्ने यस संस्थाको उद्देश्य रहेको कुरा यस संस्थाका महासचिव शान्ता ठोक्करले नेपाली खबरलाई बताए । उनका अनुसार संस्था गठन भएलगत्तै मृगौला फेल भएर बिरामी भएकी नेपालकी तेक्वान्दो खेलाडी मन्जु श्रेष्ठलाई १ हजार डलर सहयोग गरिएको छ ।
एकैजना काफी
हार्वड विश्वविद्यालयबाट अर्थशास्त्रमा अण्डरग्याजुयट सकाएका शैलेस मुनाकर्मीले एक विद्यार्थी एक ल्यापटप कार्यक्रम (One Laptop Per Child )  अन्र्तगत ल्यापटपहरु किनेर भक्तपुरको एभरेष्ट इंगलिस स्कुल र चितवनको श्री आर्दश मावीलाई क्रमश ९ र ११ वटा ल्यापटप दिएका छन् । उनले उक्त कार्यक्रमका लागि आफूले यहाँ रेष्टुरेन्टमा एउटा फण्डरेजको लागि पार्टी राखेको र त्यसबाट ८ हजार ५ सय डलर उठाएको र १५ सय खर्च भई बाँकी ७ हजार डलरले २० वटा ल्यापटप किनेर विद्यालयलाई दिएको बताए । उनले २० हजार डलर सहयोग जुटाउने लक्ष्य राखेका छन् । ‘आगामी दिनमा पनि यसलाई निरन्तरता दिन्छु ।’-उनले नेपाली खबरसित भने ।
के ठीक, के बेठीक ?
नेपालीहरुको बढ्दो प्रभाव र विस्तारसँगै नेपाली संगठनहरु खुल्नुलाई अमेरिकामा नेपाली समुदायमा सवलीकरणको रुपमा अथ्र्याइए पनि
धेरैजसो संस्थाहरु नाममात्रैका हुनु र एउटै उद्देश्यका लागि पनि विभिन्न संस्थाहरु खोलिनु भने पक्कै राम्रो होइन । अझ कतियप संस्थाहरु खोलेर विभिन्न बाहानमा नेपालबाट अमेरिका मान्छे ओर्साने धन्दामा लागेको देख्नेहरुले भने यस्ता संस्थाहरुलाई विकृतिको मुहान ठान्छन् । तर पनि अमेरिकामा रहेका विभिन्न संस्थाले नेपाल र नेपालीको हितका लागि गरेको कामलाई भने नजरअन्दाज गर्न सकिन्न ।

No comments:

Post a Comment

खोज्नुहोस

Custom Search

SEARCH RESULTS