अमेरिकामा नेपालीहरुको संख्यात्मक वृद्धिसँगै नेपालीहरु विभिन्न संघ-संस्था खोलेर संगठित हुने क्रम बढ्दो छ । सन् १९६७ मा नेपाल सोसाइटी वासिङटन डिसी खोलेर गरिएको संगठित हुने यो प्रयास अहिले करिव पाँच दशकपछि निकै विस्तारित भएको छ । अमेरिकामा नेपाली कति संघ संस्था खोलिए त भन्ने आधिकारिक तथ्याङ्क नभेटिए पनि इमेल गुप्रहरुलाई पनि संस्थाको रुपमा मान्ने हो भने करिब पाँच सयको हाराहारीमा संस्थाहरु छन् भनेर अनुमान गर्न सकिन्छ । तीमध्ये ४० देखि ५० वटा संघ-संस्था अमेरिकाको कानुन अनुसार मुनाफारहित गैह्रसरकारी संस्थाको रुपमा दर्ता गरिएको छ । खोलिएका संघ संस्थाहरुमा सामाजिक, व्यवसायिक, राजनैतिक, जातिय, भाषिक र क्षेत्रीय उद्देश्य बोकेका संस्थाहरुको बाहुल्य छ । यी संस्थाहरुको उद्देश्य र गठनलाई हेर्ने हो भने नेपालको राजनैतिक, सामाजिक, जातीय, क्षेत्रीय विभाजनको तस्वीर अमेरिकामा पनि छर्लंग देख्न सकिन्छ ।
यति धेरै संस्थाहरु किन चाहियो त ? सबै संस्थाका प्रतिनिधिहरुको भनाइ छ, समान उद्देश्य भएका मानिसहरु संगठित हुन र आफ्नो हकहितको रक्षा गर्न अनि नेपालमा समाजसेवा गर्न । संख्यागत हिसाबले वासिंगटन डिसीमा सबैभन्दा बढी अर्थात् ४५ वटा नेपाली संगठनहरु छन् ।